२८° ३७’ देखि २९° ०७’ उत्तरी अक्षांश तथा ८१° ४९’ देखि ८२° ३४’ पूर्वी देशान्तर सम्म फैलिएको जाजरकोट जिल्ला कर्णाली प्रदेशमा पर्ने १० वटा जिल्लाहरूमध्ये एक हो । साविकको भेरी अञ्चलमा पर्ने यस जिल्ला राज्यको पछिल्लो पूनःसंरचना अनुसार कर्णाली प्रदेश भित्र परेको हो । २,२३० वर्ग कि.मी. क्षेत्रफल ओगडेको यस जिल्लाको २०६८ सालको जनगणनाको आधारमा जनसंख्या १,७१,३०४ रहेको छ । यस जिल्लाको सदरमुकाम खलंगा हो, जुन भेरीमालिका नगरपालिकामा पर्दछ र मुलुकको राजधानी काठमाडौबाट ६६२ कि.मी. पश्चिममा अवस्थित छ । मध्य तथा उच्च पहाडी भू–भागमा पर्ने यस जिल्ला शिवपार्वती गुफा, जगतीपुरको प्राचिन बौद्ध स्तुप, नहकुली लेक, मालिका मन्दिर, नढाईहाव ताल, शिवालय कुटी, बारेकोट, भेरी नदी लगायतका पर्यटकीय क्षेत्रको लागि प्रख्यात छ । यस जिल्लामा महाभारत पर्वत श्रृङ्खलाका ६१० देखि ५४१२ मिटर सम्मका भू–भागहरू रहेका छन् ।